झिनो अंकले घट्यो बजार, ‘प्यानिक सेल रोकिएको संकेत

धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ।
आज बजार ६.६८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७०.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२८ अंकले घटेर ४८४.९८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मुक्तिबहादुर खत्री करेक्सन लगभग पूरा भएकोजस्तो आजको बजारबाट देखिएको बताउँछन्। ‘सम्भवतः बजार अब लयमा फर्किन सक्छ’, उनले भने।
राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले पुँजीबजारको स्थायित्वका लागि ल्याएको भए पनि यसले विपरीत प्रतिक्रिया सिर्जना गरेको खत्री बताउँछन्। ‘राष्ट्र बैंकले अब यो सीमा संस्थागत लगानीकर्ताका लागि हटाउन सक्छ’, उनले भने, ‘किनकि पुँजीबजारमा व्यक्तिभन्दा संस्थागत लगानीकर्ता बढी उत्तरदायी हुन्छन्, यिनले राज्य पनि बढी कर तिर्छन्।’
राम्रा र बलिया कम्पनी बढ्न बाँकी नै रहेकोले बुलिस ट्रेन्ड अझै भ्यालिड रहेको उल्लेख गर्दै अहिलेको बजारमा सेयर बेचेकाहरुलाई धेरै नोक्सानी भएको बताए। ‘किनकि बुल सकिएको छैन र सम्बन्धित निकायले अहिलेको नीति परिमार्जन गर्ने सम्भावना पनि रहेकोले बजारले अब गति लिन सक्छ’, उनले भने।
बजारका सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार जति घट्नुपर्ने हो, घटिसकेको बताउँछन्। ‘आज कारोबार घट्नु भनेको घाटा खाएर सेयर बेच्न नचाहनुपर्ने मुख्य कारण हो’, उनले भने।
बजार करिब ९ अर्ब रुपैयाँले घटिसकेकोले जिम्मेवार निकायहरुबाट पुँजीबजारमैत्री निर्णय आउनैपर्ने कँडेलको भनाइ छ। ‘सरकारको खर्च २ खर्ब रुपैयाँ बजारमा गइसकेकोले तरलता पनि सहज हुनेछ र ब्याजदर पनि बढ्ने सम्भावना छैन’, उनले भने, ‘आजबाट प्यानिक सेल पनि रोकिएकोले बजार फर्किने सम्भावना प्रबल बनेको छ।’ 
आज नेप्से उपसमूहका रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 
यो दिन लघुवित्त समूह सर्वाधिक १.४७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.२९ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ०.४३ प्रतिशत र जीवन बीमा समूहमा ०.०४ अंकको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक २.४७ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.२१ प्रतिशत, व्यापार समूहमा ०.६८ प्रतिशत, विकास बैंक समूहमा १.८७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत र लगानी समूहमा ०.७७ प्रतिशतले गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता सेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा किनबेच भएका छन्।
आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक १२ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ११ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको १० करोड २९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ५४ लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको ९ करोड २२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ५१ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ३८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड १ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंक (संस्थापक सेयर) को ७ करोड ७० लाख रुपैयाँ र अपी पावरको ७ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ९ प्रतिशत बढीले ओरालो लागेको छ। 
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आशा लघुवित्त, मैलुङखोला जलविद्युत, सपोर्ट माइक्रोफाइनान्स र मिथिला लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन महिला लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।