आदूरदर्शी नीतिले बजार घटेको इभेष्टर्स फोरमकाे आरोप

नेपाल इन्भेस्टर्स फोरमले सरकार र नियामक निकायको अदूरदर्शी नीतिका कारण सेयर बजार निरन्तर घटिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फोरमले आज एक विज्ञप्ति जारी गर्दै नेपालको पुँजी बजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम ८ खर्बभन्दा बढी गुमाइसक्दा पनि सरकार र नियामक निकायहरु मौन रहनुले ४४ लाखभन्दा बढी लगानीकर्ताहरु मर्माहित भएको जनाएको छ। अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्तामा अर्थमन्त्रको मेरुदण्डका रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरु बेखबर रहनुले भनाइ र गराइमा फरक रहेको स्पष्ट देखिन्छ।’जिम्मेवार निकायहरुको अदूरदर्शी नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानीयोग्य पुँजी तथा तरलताको अभाव खेपिरहेको पनि विज्ञप्तिमा जनाइएको छ।